राँझा, १९ कार्तिक । जिल्ला प्रहरी कार्यालय बाँकेले बहुमूल्य नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरी मङ्गलवार सार्वजनिक गरेको छ ।
घोराही उपमहानगरपालिका–१७ दाङ निवासी माधवप्रसाद घिमिरेलाई बहुमूल्य नागमणि राख्दा व्यापार व्यवसाय राम्रो हुने, परिवारका सदस्यको आयु लामो हुने भनी ललाइफकाई प्रलोभनमा पारी एक करोड ८९ लाख ५० हजार ठगी गरेको अभियोगमा नौमुले गाउँपालिका–४ दैलेख निवासी धनबहादुर रोका, कुमाख गाउँपालिका–५ सल्यान निवासी कृष्ण शाह र शारदा नगरपालिका–९ सल्यान निवासी डिल्लीबहादुर बोहरालाई पक्राउ गरेको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभएकाे हाे ।
उहाँका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१ बाट उनीहरुलाई ४० लाखसहित पक्राउ गरिएको हो । आइतबार पक्राउ गरिए पनि उनीहरुलाई मङ्गलबार पत्रकार सम्मेलनमार्फत प्रहरीले सार्वजनिक गरेको थियो । पत्रकार सम्मेलनमा पछिल्लो तीन दिनयता विभिन्न अभियोगमा पक्राउ परेका १२ अभियुक्त र उनीहरुको साथबाट बरामद गरिएको सामग्रीको विवरण सार्वजनिक गरिएको थियो ।