पर्यटकका लागि पर्यटनका सबै क्षेत्र खुला गर्ने सरकारकाे तयारी | Samacharpati पर्यटकका लागि पर्यटनका सबै क्षेत्र खुला गर्ने सरकारकाे तयारी – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८
  • होमपेज
  • पर्यटकका लागि पर्यटनका सबै क्षेत्र खुला गर्ने सरकारकाे तयारी

पर्यटकका लागि पर्यटनका सबै क्षेत्र खुला गर्ने सरकारकाे तयारी

पर्यटकका लागि पर्यटनका सबै क्षेत्र खुला गर्ने सरकारकाे तयारी

काठमाडौँ, १७ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल पर्वतारोहण संघ (एनएमए) को ४७ औंँ वार्षिकोत्सवका अवसरमा आयोजित वेबिनार कार्यक्रमलाई सम्बोधन गर्दै कोभिडसँग सुरक्षित रहँदै विस्तारै पर्यटन खोल्दै जानाको विकल्प नभएको बताउनुभयाे । सरकारले कात्तिक १ गतेदेखि पदयात्रा र हिमाल आरोहणका लागि विदेशी पर्यटक आगमन खुला गरेको थियो ।

मन्त्री भट्टराईले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्दै पर्यटनका अन्य क्षेत्र पनि खुला गर्ने गरी मन्त्रालयले तयारी गरेको र यो प्रस्ताव छिट्टै मन्त्रिपरिषद्मा लगिने बताउनुभयाे ।

कोभिड महामारीका कारण  बन्द गरिएको अनराइभल भिसा सरकारले कात्तिक १ गते (अक्टोबर १७ ) देखि खुला गरिसकेको छ । पदयात्रा र पर्वतारोहण खुला भएसंँगै हालै बहराइनका राजकुमारसहितको टोली सफलतापूर्वक नेपालका हिमाल आरोहण गरी फर्किएको छ ।

यसले नेपाल कोरोनाकै बीच पनि सुरक्षित पर्यटकीय गन्तव्य हो भन्ने सन्देश गएको उल्लेख गर्दै मन्त्री भट्टराईले यसलाई उपयोग गर्दै पर्यटनका अन्य क्षेत्र पनि खोल्ने तयारी भएको बताउनुभयाे ।

मन्त्री भट्टराईले नेपालको पहिचान हिमालको संरक्षण र सम्बद्र्धनमा सबैले ध्यान दिनुपर्ने औंँल्याउनुभयाे । प्रदूषण र विश्वव्यापी तापमान वृद्धि हुँदा असर हिमाल तथा हिमतालमा पर्ने गरेको बताउँदै उहाँले तिनलाई जोगाउनु अहिलेको मुख्य चुनौती भएको बताउनुभयाे ।

एनएमएका अध्यक्ष सन्तवीर लामाले कोभिडका कारण पर्यटन व्यवसाय ठप्प हुँदा हिमाल आरोहणका क्षेत्रमा काम गर्ने मजदूर तथा व्यवसायीको दैनिक जीवन निर्वाहमा समेत समस्या देखिएको बताउँदै यस्तो महामारी तथा कठिन परस्थितिका बेला उनीहरूलाई सहयोग गर्न सरकार र एनएमए मिलेर राहत कोष (बास्केट फण्ड) स्थापना गर्न आग्रह गर्नुभयाे ।

आजको ट्रेन्डिङ समाचार