मुल्यभन्दा तीन गुणा महंगो ढुवानी खर्च, लिमीमा चामल आपूर्ति  | Samacharpati मुल्यभन्दा तीन गुणा महंगो ढुवानी खर्च, लिमीमा चामल आपूर्ति  – Samacharpati
Samacharpati
शुक्रबार, अशोज २९, २०७८
  • होमपेज
  • मुल्यभन्दा तीन गुणा महंगो ढुवानी खर्च, लिमीमा चामल आपूर्ति 

मुल्यभन्दा तीन गुणा महंगो ढुवानी खर्च, लिमीमा चामल आपूर्ति 

मुल्यभन्दा तीन गुणा महंगो ढुवानी खर्च, लिमीमा चामल आपूर्ति 

कर्णबहादुर रोकाया, हुम्ला, २५ असाेज । हुम्ला-नाम मात्रको सडकको रेखा बनाइएको हुम्लाको उत्तरी गाउँ लिमीमा कोरोना महामारीले चीनको तिब्बतको नाका बन्द हुँदा सदरमुकाम सिमकोटबाट लिमीसम्म बन्दोवस्तीका सामानहरू ढुवानी गर्दा धेरै महंगो पर्न गएको छ । ३० केजीमको प्रति कट्टा ५ हजार परेको छ । 

कोरोना भाइरसका कारण चीनसँगका सीमानाका बन्द भएपछि हुम्लाको नाम्खा गाउँपालिका– ६ लिमीका बासिन्दा मर्कामा परेका छन्। उनीहरू चामलको माग गर्दै लिमीबाट चार दिन हिँडेर हुम्ला सदरमुकाम सिमकोट पुगेका छन्। 

हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको वडा नं ६ लिमीको बस्ती चार हजार मिटरभन्दा अग्लो स्थानमा रहेको छ । चाहिने बन्दोबस्तका सामानहरू असोज कात्तिकसम्म जोहो गर्न नसके वर्षभरी व्यवस्था गर्न गाह्रो हुन्छ । यसका लागि ११ जनाको टोली लिएर सदरमुकाम सिमकोट पुगेका जनप्रतिनिधि भन्छन्– तत्काल खाद्यान्न आपूर्ति नगरे भोकै मर्ने अवस्था आउँछ  ।

खाद्यान्न संकट भएपछि नाम्खा– ६ का वडाध्यक्ष पाल्जोर तामाङको नेतृत्वमा वडासदस्यहरू कोजुम आवेजाङ तामाङ र मिग्युर लामासहित तीन गाउँका स्थानीय बासिन्दा सिमकोट पुगेका हुन्। चार दिन हिँडेर ११ जनाको टोली सदरमुकाम आएको वडाध्यक्ष तामाङले बताए। स्थानीय बासिन्दासहित बुधबार सिमकोट पुगेका वडाध्यक्ष तामाङले भने, ‘गाउँमा खाद्यान्न छैन। चीनको नाका बन्द भएकाले ल्याउन पाएका छैनौँ। भोकै बस्नुपर्ने अवस्था आएपछि चार दिन हिँडेर सदरमुकाम पुगेका हौँ।’ 

लिमी उपत्यकामा चीनको तिब्बतबाट दैनिक उपभोग्य सामानको आपूर्ति हुने गरेको छ। तर, यसपटक कोरोनाका कारण ११ महिनादेखि हुम्लासँगका हिल्सा र लाप्चा नाका बन्द छन्। जसले गर्दा तिब्बतीय व्यापारीसँग मगाएका सामान पनि नाकामै रोकिएको उनले बताए। ‘तिब्बतबाट केही आउन दिएको छैन। हाम्रो सामान पनि नाकामै रोकिएको छ,’ वडाध्यक्ष तामाङले भने, ‘अहिलेसम्म त जेनतेन चलेको थियो, अब नसकिने भयो।’

समुद्री सतहबाट चार हजार एक सय मिटरको उचाइमा रहेको लिमी उपत्यकामा तीन गाउँ तिल, जाङ र हल्जीमा एक सय ८० परिवार बस्छन्। तीनै गाउँमा जौ र उवा मात्रै फल्छ, अन्य खाद्यान्न उत्पादन हुँदैन। स्थानीयले फापर र आलु पनि उत्पादन गर्छन्, जसले बढीमा ६ महिना धान्ने गरेको छ। ‘स्थानीय उत्पादनले बढीमा ६ महिना पुग्छ, त्यसपछि तिब्बतबाट ल्याउने गरेका थियौँ,’ उनले भने

त्यसैले चार दिन हिँडेर चामलका लागि सदरमुकाम पुगेको स्थानीय टर्सीफुबु लामाले बताए। उनीहरू गाउँबाटै बन्दोबस्तीका सामान बोकेर आएका हुन्। ‘गाउँबाटै खानपिन र बाटोमा वास बस्दा ओड्ने–ओछ्याउने कपडा बोकेर आएका हौँ,’ उनले भने। उनीहरू पाँच हजार मिटरको उचाइमा रहेको न्यालु लेक पार गरेर सदरमुकाम पुगेका हुन्। लेकमा एक्लै आउँदा अप्ठ्यारो हुन सक्ने भएकाले समूहमा आएको उनको भनाइ छ। 

अब हिउँ पर्ने याम सुरु भएकाले समयमै खाद्यान्न ढुवानी नभए भोकै मर्नुपर्ने अवस्था आउने स्थानीय छिरिङमुटुप तामाङले बताए। लिमी उपत्यकामा कात्तिक मध्यतिरबाट हिउँ पर्न थाल्छ, जसले गर्दा नेपालतिरको गोरेटो बाटो बन्द हुने गरेको उनले बताए। त्यसपछि ढुवानी गर्न नसकिने भएकाले तत्काल खाद्यान्न व्यवस्था गर्न माग गर्दै आएको उनको भनाइ छ। 

लिमीबाट आएको टोलीले बिहीबार र शुक्रबार जिल्लाका राजनीतिक दलका नेता, सरकारी कार्यालयका प्रमुख तथा सरोकारवालासँग भेटघाट गरेको छ। सबैलाई तत्काल खाद्यान्नको व्यवस्थाका लागि पहल गरिदिन आग्रह गरेको वडाध्यक्ष तामाङले बताए। 

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी जिल्ला शाखा हुम्लाका प्रमुख रामबहादुर विष्टले स्थानीय बासिन्दा डेलिगेसन आएको र खाद्यान्न आपूर्तिका लागि पहल भइरहेको बताए। केही दिनमै लिमीमा खाद्यान्न आपूर्ति गरिने उनको भनाइ छ। ‘छिटै खाद्यान्न आइपुग्छ, लिमीवासी आत्तिनुपर्दैन,’ उनले भने। 

हुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद छक्कबहादुर लामाले खाद्यान्न आपूर्तिका लागि पहल गरिरहेको बताए। काठमाडौंमा रहेका उनले सम्बन्धित मन्त्रालय र निकाय धाइरहेको बताए। 

हामीले माथिको आदेशको पर्खाईमा छौं । ग्रीन सिग्नल आयो भने तत्काल आवश्यक खाद्यान्न दिने तयारीमा छौं । नेपाल खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड हुम्लाका प्रमुख रामबहादुर विष्टले बताएका छन् । अबको केही दिनमा लिमीका लागि चाहिने ६ महिनासम्मको चामल दिन सक्छौं ।

सरकारले दिएको अनुदानको चामल ३० केजीको प्रति कट्टा दुई हजार पर्छ भने ढुवानी प्रति कट्टा पाँच हजार पर्ने भएको छ । सिमकोटबाट लिमीको जाँग र हल्जी गाउँमा पुगाउन प्रति केजी एक सय १७५ पर्ने भएको छ । यसबाट मुल्यभन्दा तीन गुणा बढी ढुवानी खर्च हुने भएको छ ।

आजको ट्रेन्डिङ समाचार