बन्दीपुरका होटल व्यवसायीले बन्दीपुर भ्रमण गर्न पर्यटकलाई आग्रह | Samacharpati बन्दीपुरका होटल व्यवसायीले बन्दीपुर भ्रमण गर्न पर्यटकलाई आग्रह – Samacharpati
Samacharpati
आइतवार, साउन १०, २०७८
  • होमपेज
  • बन्दीपुरका होटल व्यवसायीले बन्दीपुर भ्रमण गर्न पर्यटकलाई आग्रह

बन्दीपुरका होटल व्यवसायीले बन्दीपुर भ्रमण गर्न पर्यटकलाई आग्रह

बन्दीपुरका होटल व्यवसायीले बन्दीपुर भ्रमण गर्न पर्यटकलाई आग्रह

दमौली, १६ असोज । कोभिड–१९ का कारण थला परेको बन्दीपुर अब तङ्ग्रिने प्रयासमा छ । बन्दीपुरका होटल व्यवसायीले बन्दीपुर भ्रमण गर्न पर्यटकलाई आग्रह गरेका छन् ।

बन्दीपुर सुरक्षित रहेको सन्देश दिँदै पर्यटकलाई घुम्न निम्तो दिइने बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले बताउनुभयो । समितिका सचिव बसन्त पौडेलले बन्दीपुरका हरेक वडा वडामा पुगेर नयाँ गन्तव्य पहिचान गर्दै पर्यटकीय स्थलको प्रबद्र्धनका लागि समिति क्रियाशील रहेको बताउनुभयो ।

हिमालय दरबार होटलका सञ्चालक वैश गुरुङले बन्दीपुरमा पर्यटक आकर्षित गर्न छुट प्याकेजका कार्यक्रम ल्याउने तयारी गरिएको जानकारी दिनुभयो । “बन्दीपुर पर्यटक स्वागत गर्न आतुर छ, यहाँका पर्यटकीय स्थल पर्यटक कुरिरहेका छन्,” उहाँले भन्नुभयो, “त्यसका लागि केही प्याकेज घोषणा गर्ने तयारीमा छौँ ।”

बन्दीपुरमा ढुङ्गाले छापेको बाटोबाट सवारी साधन जान निषेध गरिएको छ । कोलाहल, धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकाहरुलाई बन्दीपुर उत्कृष्ट गन्तव्य हो । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ ।

जहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा हेर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे, धौलागिरी लगायतका हिमश्रृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तिनधारा, रानीबन, रामकोट, सुनाखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको पहिलो रोजाई हुन् ।

बन्दीपुरमा हिमालय दरबार, ग्रिनपार्क, फेवा, गामघर, वोल्डईन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दिपुर प्यालेस, मगर भिजेललगायत साना ठूला गरी ७७ वटा होटल छन् । ती होटलका ६०५ कोठाको क्षमता एक हजार ५०० रहेको छ । त्यस्तै बन्दीपुरमै रहेका चार होमस्टेका १८५ घरमा ३८३ जनाको क्षमता रहेको छ ।

आजको ट्रेन्डिङ समाचार