भोर्लेटार, १ भदौ । लमजुङको मध्यनेपाल नगरपालिकाले नगरपालिका भित्र कार्यक्षेत्र बनाई संचालन भइरहेका सहकारीहरुलाई सुचिकृत हुन आग्रह गरेको छ ।
गत साउन २५ गते प्रकाशित सुचनामा भनिएको छ – मध्यनेपाल नगरपालिकाको आ.व. २०७७/७८ को नीति तथा कार्यक्रममा यस नगरपालिकाभित्र कार्यक्षेत्र बनाई दर्ता भएका सहकारी संस्थाहरु अनिवार्य रुपमा सुचिकृत हुनुपर्ने प्रवधान रहेकाले सुचना प्रकाशित भएको मितिले २५ दिनभित्र सुचिकृत हुन आउनका लागि सुचना प्रकाशित गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दण्डपाणी पौडेलले हस्ताक्षर गरेको सुचनामा सहकारी सुचिकृत हुनको लागि संस्थाको निवेदन, वडा कार्यालयको सिफारिस, संस्था दर्ताको प्रमाणपत्र, संस्थाको विनियम, २०७५/७६ र ०७६/०७७ को अडिट रिपोर्ट, कर चुक्ताको प्रमाणपत्र, कार्यसमितका सदस्यहरुको नामावी र पछिल्लो साधारणसभाको निर्णय बुझाउनुपर्नेछ ।
नगरपालिकाको सुचना अनुसार भदौ १८ गते भित्र सहकारीहरु नगरपालिकामा सुचिकृत हुनुपर्ने छ । सो अबधिमा सुचिकृत नहुने सहकारीलाई नगरपालिकाबाट प्रवाह गर्ने सेवा सुविधा प्रदान नगरिने उल्लेख छ ।