रुकुम घटनाका मृतक परिवारलाई सरकारद्धारा राहतस्वरुप १०/१० लाख उपलब्ध | Samacharpati रुकुम घटनाका मृतक परिवारलाई सरकारद्धारा राहतस्वरुप १०/१० लाख उपलब्ध – Samacharpati
Samacharpati
आइतवार, मंसिर १२, २०७८
  • होमपेज
  • रुकुम घटनाका मृतक परिवारलाई सरकारद्धारा राहतस्वरुप १०/१० लाख उपलब्ध

रुकुम घटनाका मृतक परिवारलाई सरकारद्धारा राहतस्वरुप १०/१० लाख उपलब्ध

रुकुम घटनाका मृतक परिवारलाई सरकारद्धारा राहतस्वरुप १०/१० लाख उपलब्ध

काठमाडौँ, २८ साउन । सरकारले रुकुम घटनाका मृतक परिवारलाई राहतस्वरुप १०/१० लाख उपलब्ध गराउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रुकुम घटनाका मृतकलाई १०/१० लाख आर्थिक सहयोग र घाइतेको उपचार खर्च व्यवहोर्ने निर्णय गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृतक भेरी नगरपालिका नवराज विक र गणेश बुढामगर, लोकेन्द्र सुनार, सञ्जीव विक, गोविन्द शाही र चौरजहारी नगरपालिका रुकुम पश्चिमका टिकाराम सुनारलाई १०/१० लाख उपलब्ध गराउने भएको हो ।

यस्तै घाइते लालबहादुर खड्का, सेते पुन, लालबहादुर शाही, सरोज भँडेल र भोला विसी, ललितजंग विक, बमबहादुर विक, हेमबहादुर खड्का, गोविन्द सुनार, महेश कार्की, डिल्ली विक र सुनिल सुनारलाई उपचार गर्दा लागेको बिलअनुसार उपचार खर्च दिने निर्णय गरेको हो । गत जेठ १० गते चौरजहारीमा उक्त घटना भएको थियो ।

मन्त्रिपरिषद् बैठकले नेपाल–बंगलादेश वाणिज्य सचिवस्तरको छैटौँ बैठकका लागि वार्ताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा ११ सदस्यीय वार्ता टोली गठन गरेको छ ।

नेपाली सेनाका महासेनानी सञ्जय देउजालाई लेबनान सरकारले प्रदान गर्ने ‘गभरमेन्ट अफ लेबनान’ले प्रदान गर्ने विभुषण ग्रहण गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । बैठकले सुपरमाई क्यासकेड जलविद्युत् आयोजना (३ मेघावाट) र गच्र्याङ खोला साना जलविद्युत् आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्ने निर्णय गरेको मन्त्री डा खतिवडाले जानकारी दिनुभयो । यस्तै राष्ट्रिय जनगणना २०७८ को घर तथा घरपरिवार सूचीकरण फारम र मुख्य प्रश्नावली स्वीकृत गर्ने निर्णय गरेको छ ।

आजको ट्रेन्डिङ समाचार