अन्नपूर्ण गाउँपालिकाको ८ औं गाउँसभा | Samacharpati अन्नपूर्ण गाउँपालिकाको ८ औं गाउँसभा – Samacharpati
Samacharpati
शुक्रबार, भदौ २५, २०७८
  • होमपेज
  • अन्नपूर्ण गाउँपालिकाको ८ औं गाउँसभा

अन्नपूर्ण गाउँपालिकाको ८ औं गाउँसभा

अन्नपूर्ण गाउँपालिकाको ८ औं गाउँसभा

श्रीभद्र पौडेल, हेमजा ४ असार । कास्कीको अन्नपूर्ण गाउँपालिकाले बिहीवार एक कार्यक्रमका बीच आ.व ०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

नेपाल सरकारको ‘समृद्घ नेपालः सुखी नेपाली’, गण्डकी प्रदेश सरकारको ‘समृद्घ प्रदेश र सुखी नागरिक’ तथा आफ्नो पालिकाको ‘समुन्नत र समृद्घ अन्नपूर्ण’ भन्ने मूल भावनामा रहेर नीति तथा कार्यक्रम ल्याइएको अध्यक्ष युवराज कुँवरको दावी छ । यसपटक धेरै नारालाई पनि अगाडि सारिएको छ ।

गाउँपालिकाले कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । जसअनुसार कृषितर्फ ‘कृषि क्षेत्रको अभिबृद्घि अन्नपूर्ण गाउँपालिकाको समृद्घि’ नारालाई अगाडि सारिएको छ ।गाउँपालिकाले एक घर एक टनेल, ढिकुरपोखरी र नयाँपुलमा कृषि उपज संकलन केन्द्र निर्माण, साना सिचाई कार्यक्रम संचालन, प्रत्येक घरधुरीका एक सदस्य एक फलफूलको विरुवा रोपण, मह उत्पादनमा जोड, कृषि विमा, भूमि बैक खडा, पालिकालाई कोदोमा आत्मनिर्भर, आलु उत्पादन कार्यक्रम संचालन तथा खाना नफालौं कार्यक्रमलाई विशेष अभियानका रुपमा संचालन गर्ने भएको छ।

त्यस्तै पशुतर्फ एक कृषक एक दुहुनो गाई÷भैँसी, भोटे कुकुरको संरक्षण, अण्डा र मासुमा आत्मनिर्भर, भुर्रा वितरण तथा पोखरी निर्माणमा जोड लगायत रहेका छन्।त्यस्तै पशुपालन क्षेत्रमा आधुनिक प्रविधिहरु सुधार गर्न ‘काम गरेर सिक्छः देखेर विश्वास गर्छ’ नारालाई गाउँपालिकाले अगाडि बढाउने छ।

प्रस्तुत नीति तथा कार्यक्रममा पर्यटनलाई दोस्रो प्राथमिकतामा राखिएको छ । जसअनुसार गाउँपालिका स्तरीय गुरुयोजना निर्माण, विरेठाँटी र पोथनामा विदेशी पर्यटक गणनाको सुरुवात, अन्नपूर्ण ग्रेटर पर्यटन पदमार्गको निर्माण, भदौरे, घान्द्रुक, लान्द्रुक, पोथना, ठुलाखर्क, पाउँदुरकोट र दाङसिङ स्थित सामुदायिक होमस्टेको प्रवद्र्घन, अन्नपूर्ण आधार शिविरका होटलमा कोठा थप गर्ने भनिएको छ । त्यस्तै लुम्लेमा रक क्लाईमिङग, महँगो डाँडामा जिप फ्लायर, सार्कुको घट्टेखोलामा क्यानोनिङ, थमडाँडाबाट प्याराग्लाइडिङको सम्भाव्यता समेत गाउँपालिकाले आगामि आ.वमा गर्ने भएको छ।

त्यस्तै गाउँपालिकाले परम्परागत रुपमा रहेका राडीपाखी, कम्बल, भाङग्रा, झोला बनाउने तानहरुलाई व्यवसायिकताका साथ अन्नपूर्ण ब्राण्डका रुपमा विकास गर्ने भएको छ ।त्यस्तै अल्लोमा आधारित उद्योग स्थापनाका लागि पहल, कालोबजारी अन्त्यका लागि संयुक्त बजार अनुगमन, पालिका स्तरीय उद्योग बाणिज्य संघ गठन, एक घर एक तालिमलाई अनिवार्य गर्ने भएको छ।

त्यस्तै गाउँपालिकाले कोविड १९ को संक्रमण रोकथामका लागि विशेष नीति पनि अगाडि सारेको छ ।जसको नियन्त्रणका लागि भारत लगायत तेस्रो मूलुक तथा नेपाल भित्रकै प्रभावित क्षेत्रबाट पालिका आएका व्यक्तिहरुलाई १४ दिन अनिवार्य क्यारेन्टीनमा राख्ने, कोविडका कारण पठनपाठनमा भएको अवरोधलाई दृष्टिगत गरी सम्भव भएसम्म भर्चुअल कक्षा संचालन, अनलाइन शिक्षा तथा टेलीभिजन र रेडियोमार्फत पठनपाठनका लागि पहल गर्ने जनाइएको छ ।

त्यसका साथै गाउँपालिकालेः म मेरो स्वास्थ्य र मेरो जिम्मेवारी, एक विद्यालय एक नर्स, एक घर एक धारा, महिलासँग उपाध्यक्ष, वैज्ञानिक व्यवस्थापन सहितको हरियो वन अन्नपूर्णको स्वच्छ वातावरण स्वस्थ जीवन, म भ्रष्टचार गर्दिन म भ्रष्टचार हुन दिन्न र जनताका लागि इमान्दार भएर कार्य गर्नेछु, अन्नपूर्ण समृद्घिका लागि नियमित तिरौं करः तिरेको कर विकास मार्फत फर्किन्छ घर घर, एक वडा एक खेलमैदान जस्ता नारालाई पनि अगाडि सार्ने भएको छ । गाउँपालिका अध्यक्ष कुँवरको अध्यक्षतामा भएको उक्त कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले संचालन गरेका थिए ।

 

आजको ट्रेन्डिङ समाचार