लुकिछिपी स्वदेश भित्रिने क्रमले संक्रमणको केन्द्र बन्दै प्रदेश ५ • Nepal's Trusted Digital Newspaperलुकिछिपी स्वदेश भित्रिने क्रमले संक्रमणको केन्द्र बन्दै प्रदेश ५ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • लुकिछिपी स्वदेश भित्रिने क्रमले संक्रमणको केन्द्र बन्दै प्रदेश ५

लुकिछिपी स्वदेश भित्रिने क्रमले संक्रमणको केन्द्र बन्दै प्रदेश ५

  • मङ्लबार, बैशाख ३०, २०७७
लुकिछिपी स्वदेश भित्रिने  क्रमले संक्रमणको केन्द्र बन्दै प्रदेश ५

बुटवल, ३० बैशाख । सीमामा कडा निगरानी नहुँदा प्रदेश ५ मा कोरोना संक्रमित भित्रिनेको क्रम बढेको छ। प्रदेशका ६ वटै सीमावर्ती जिल्लाबाट भारतमा रहेकाहरू नेपाल भित्रिएका छन्। सातादिनसम्म दशगजामा बसेकाहरू लुकिछिपी स्वदेश भित्रिएका हुन। उनीहरूमध्ये मात्रै १७ जनामा कोरोना देखिएको छ।

लुकेर सीमा पार गरेका रुपन्देहीका एक जनामा कोरोना देखिएको थियो। ती नै प्रदेश ५ को पहिलो संक्रमित थिए। बाँकेका ६० वर्षीय पुरुष पनि भारतीय सहरमा बसेर फर्किएपछि कोरोना पोजेटिभ देखिए। पछिल्लो पटक कपिलवस्तुका १५ जनामा कोरोना देखिएको छ। ती सबै भारतबाट लुकिछिपी सीमा पार गरेका हुन्। यशोधरा गाउँपालिका र बुद्धभूमि नगरपालिकाका १० जनामा सोमबार पोजेटिभ देखिएको हो। यीसँगै प्रदेशमा संक्रमितको संख्या ४० पुगेको छ। यो मुलुककै एकतिहाइ हो।

दशगजामा अलपत्र परेकालाई समयमै उद्धार गर्न नसकेपछि लुकेर भित्रिने बढेका छन्। कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दृगनाराण पौडेल रातिको समयमा लुकेर भित्रिएको बताउँछन्। ‘सीमा सुरक्षा कडा नै छ, रातिको समयमा लुकेर केही भित्रिएका छन्, उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छ, उनले भने।

कपिलवस्तुमा मात्रै लुकेर भित्रिएका करिब एकसय जनालाई क्वारेन्टाइनमा राखिएको छ। उनीहरूसँग सम्पर्कमा आएका थप दुई सय जना पनि क्वारेन्टाइनमा छन्। तीमध्ये १५ जनामा कोरोना संक्रमण देखिएको हो। लुकेर आएका र अन्य गरी २ सय ९९ जनाको स्वाब संकलन भएको थियो। तीमध्ये २ सय जनाको नतिजा आउन बाँकी छ। गत बुधबारयता सीमा क्षेत्रबाट कैयौं नेपालीहरू कपिलवस्तु प्रवेश गरेको स्थानीयहरू बताउँछन्। कपिलवस्तु क्षेत्रका सीमाको दशगजामा मात्रै भारतको पञ्जावबाट आएका ४ सय जना नेपाली अलपत्र थिए।अन्न्पुर्ण पोष्टमा खबर छ ।

भारतीय सुरक्षाकर्मीले नेपाल पठाउने र नेपाली सुरक्षाकर्मीले रोक्ने गरेपछि उनीहरू लुकेर आउन बाध्य भएका हुन्। प्रदेश ५ का छ जिल्लाका सीमामा सशस्त्र प्रहरी खटिएको छ। सशस्त्र प्रहरी बल प्रदेश नम्बर ५ का प्रमुख नारायणदत्त पौडेलकाअनुसार सीमा क्षेत्रमा २ सय ५० बढी प्रहरी पोस्ट खडा गरिएको छ। ती पोस्ट एकअर्का सुरक्षा टोलीलाई देख्ने ५ सय मिटरमा सुरक्षाकर्मी राखिएको छ। सामान्य अवस्थामा प्रदेश नम्बर ५ का तराईका ६ जिल्लामा ६ वटा गण ३ वटा भन्सार सुरक्षा गुल्म र २८ वटा बीओपी रहँदै आएका छन्।

सशस्त्र प्रहरीको प्रदेश नम्बर ५ को बिन्ध्यवासीनी बाहिनी र थप अन्य बाहिनीबाटसमेत जनशक्ति ल्याई सीमा क्षेत्रलाई पूर्ण रूपमा सील गरिएको बताइएको छ। तर, रातिको समयमा सुरक्षा निकायको दृष्टी छल्दै खेतको बाटो भएर नेपाल भित्रिने क्रम रोकिएको छैन। प्रदेशमा कोरोना परीक्षणको रफ्तार नबढ्दासमेत संक्रमितको संख्या बढ्ने जोखिम छ। नेपालगञ्जमा देखिएका संक्रमितहरू ६० वर्षीया पुरुषबाटै सरेको बताउने गरिएको छ। ती पुरुषको स्वाब परीक्षण ढिलो भएकै कारण संक्रमण गाउँमा फैलिएको स्वास्थ्यकर्मीहरू नै बताउँछन्।

प्रदेशमा तीनवटा पीसीआर परीक्षण प्रयोगशाला छन्। स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीकाअनुसार अहिलेसम्म १ हजार ८ सय जनाको परीक्षण भएको छ। प्रदेशमा रहेका ल्याबले क्षमताअनुसार परीक्षण गर्न नसकेपछि साढे ६ सय नमुना काठमाडौंस्थित टेकु प्रयोगशालामा पठाइएको थियो। प्रदेशमा अहिलेसम्म करिब ३३ सय जनाको स्वाब संकलन भएको छ। भारतबाट आएकालाई जोखिम सूचीमा राख्ने हो भने मात्रै पनि प्रदेशमा करिब २ लाखको परीक्षण आवश्यक छ। पछिल्ला तीन दिनमा स्वाब संकलनमा जोड दिइएको हो।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका