गोरखामा छन यस्ता ठाउँ जहाँ औषधिमुलोको रुपमा (पाह) भ्यागुतो खुवाइन्छ ! | Samacharpati गोरखामा छन यस्ता ठाउँ जहाँ औषधिमुलोको रुपमा (पाह) भ्यागुतो खुवाइन्छ ! – Samacharpati
Samacharpati
मङ्लबार, कार्तिक २, २०७८
  • होमपेज
  • गोरखामा छन यस्ता ठाउँ जहाँ औषधिमुलोको रुपमा (पाह) भ्यागुतो खुवाइन्छ !

गोरखामा छन यस्ता ठाउँ जहाँ औषधिमुलोको रुपमा (पाह) भ्यागुतो खुवाइन्छ !

गोरखामा छन यस्ता ठाउँ जहाँ औषधिमुलोको रुपमा (पाह) भ्यागुतो खुवाइन्छ !

गोरखा, १० चैत । भ्यागुतो प्रजातीको पाह। झट्ट हेर्दा उस्तै आकार तर अली लामो देखिने। उच्च पहाडी र हिमाली भेगको खोलामा पाईने पाह खाने प्रचलन गोरखाका केही ठाउँहरुमा अहिले पनि छ। खानाको रुपमा भन्दा पनि औषधिमुलोको रुपमा पाह खानेहरु धेरै छन्।

गोरखाको अजिरकोट गाउँपालिकाको ओलाङ, खिम्पु, अपुन, भच्चेक, घ्याच्चोक लगायत ठाउँका मानिसले पाहलाई ताकत दिने खानेकुराको रुपमा लिन्छन्। ‘महिलालाई सुत्केरी भएको बेला कमजोर हुन्छ, त्यतीबेला ताकत आउँछ भनेर पाह खुवाईन्छ’ अजिरकोट २ वलाङकी विषमाया गुरुङ भन्छिन् ‘बिरामी हुँदा, घाउ चोटपटक लाग्दा पनि पाह खाने चलन छ, हामी पनि खान्छौँ।’

पाह खोलामा पाईन्छ। यो पानीमा हुने प्रजातीको जिव हो। यसलाई ल्याएर सफा गर्ने, भुँडी फाल्ने, अगेनामाथि तापमा केही दिन सुकाउने गरिन्छ। यसरी सुकाएको पाह लामो समयसम्म प्रयोग गर्न मिल्छ। राम्रोसँग सुकेपछि तरकारी पकाएजस्तै गरी मरमसला र तेलमा भुटेर खाईन्छ। ‘यहाँ मात्रै होईन अन्यत्र शहरतिर पनि गाउँबाट गएकाहरुले पाह औषधिको रुपमा मगाउँछन्’ स्थानीय सुकमाया गुरुङले भनिन् ‘कोसेलीको रुपमा पनि पाह पठाउने चलन छ।’

एक जोडी पाहको तीनदेखि पाँच सय रुपैयाँ पर्छ। सानो, ठूलो आकार अनुसार पैसा फरक पर्छ। धेरै संख्यामा व्यवसायीक रुपमा पाह जम्मा गरेर बिक्री गर्ने नभएपनि सबैजसो स्थानीयको घरमा औषधिको रुपमा खानेगरी पाह राखिएको छ। ‘आफूलाई चाहिएको बेला अन्यत्र खोज्न जानुपर्दैन, घरमै राखेर स्थानीयले प्रयोग गर्छन्’ सुकमायाले भनिन्। गाउँ घुम्न आएका वा शहर बजारतिर बिदेशीले पनि पाहलाई चाखालाग्दो गरी खान्छन्। गाउँघरमा भने महिलाहरुको शारीरिक अवस्था कमजोर हुने भएकाले उनीहरुले धेरै खानुपर्छ भन्ने मान्यता छ। खोलादेखि पाह खोजेर ल्याउने धेरैजसो पुरुष हुन्छन् भने खानेचाँही महिला हुन्छन्।

शरीरमा चिसो र कमजोर महशुस भएका बेला पाह खुवाउने चलन छ। ‘ठूलो ठूलो ढुङ्गा पल्टाएर पाह समाउनुपर्छ’ ओलाङका पूर्णबहादुर गुरुङले भने ‘महिला र केटाकेटीले सक्दैनन्, घाँसदाउरा गर्न गएको बेला सानो प्वाल बनाएर छाडिदिने, दुई चार दिनमा त्यहाँ बस्छ अनी ल्याउने गर्छौँ।’ वर्षात भएका बेला खोलाको छेउमा पाह निस्कने भएकाले त्यतीबेला धेरै पाईन्छ। मंसिरदेखि जेठ महिनासम्म पाह सजिलै पाउने स्थानीय बताउँछन्। ‘ताकत दिने भन्दै भेडा, कुखुराको मासु खुवाईन्छ तर त्यो भन्दा धेरै ताकत सुकाएपछि पकाएर खाएको पाहले दिन्छ भन्ने मन्यता हाम्रो यहाँ छ’ पूर्णबहादुरले भने। ‘पाँचवटा कुखुरा खाँदा आएको ताकत एउटा पाहले दिन्छ भन्छ।’ स्थानीय भाषमा पाहालाई ‘कौ’ भन्छन्। एउटा घरमा नभएको बेला गाउँमा अ‍ैँचो पैँचो पनि चल्छ। किनबेच पनि हुन्छ। शहर बजारतिर गाउँबाट गएकाहरुले औषधिको रुपमा पाँच सयदेखि एक हजार हालेर पनि किन्छन्।

‘यो एउटा संस्कार पनि बनेको छ’ अजिरकोट गाउँपालिका उपाध्यक्ष चन्द्रमाया गुरुङले भनिन् ‘राम्रो सँग सुकाएर, सफा गरेर पकाएर कहिलेकाँही औषधिको रुपमा प्रयोग गर्ने प्रचलन पहिलेदेखि अहिलेसम्म छ।’ पाह खाएर असर गरेको बारे थाहा नभएको बताउँदै उनले खाना, खाजा भन्दापनि औषधीको रुपमा प्रयोग हुने गरेको बताईन्। अहिलेको आधुनिक युगमा पाहलाई औषधि मान्न नसकिए पनि गाउँघरमा पाका पुस्ताले मान्ने गरेको उनी बताउँछिन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

आजको ट्रेन्डिङ समाचार