पनौतीकाे इन्द्रेश्वर महादेव मन्दिर परिसरमा १६० भन्दा बढी तस्वीर प्रदर्शनी | Samacharpati पनौतीकाे इन्द्रेश्वर महादेव मन्दिर परिसरमा १६० भन्दा बढी तस्वीर प्रदर्शनी – Samacharpati
Samacharpati
बुधबार, अशोज २७, २०७८
  • होमपेज
  • पनौतीकाे इन्द्रेश्वर महादेव मन्दिर परिसरमा १६० भन्दा बढी तस्वीर प्रदर्शनी

पनौतीकाे इन्द्रेश्वर महादेव मन्दिर परिसरमा १६० भन्दा बढी तस्वीर प्रदर्शनी

पनौतीकाे इन्द्रेश्वर महादेव मन्दिर परिसरमा १६० भन्दा बढी तस्वीर प्रदर्शनी

बनेपा, ७ माघ । पनौतीको इन्द्रेश्वर महादेव मन्दिर परिसरमा हिजोआज विभिन्न थरिका तस्वीरहरु देख्न पाइन्छ । जीवनशैली, सांस्कृतिक, धार्मिक, ऐतिहासिक मन्दिर, सुन्दर मनोरम दृश्य, वातावरण रहनसहनलगायतका विषय समेटेर करीब १६० भन्दा बढी प्रदर्शनीमा राखिएका तस्वीर अवलोकन गर्न सकिन्छ । सधैँजसो इन्द्रेश्वर महादेव मन्दिर परिसरमा रमाइरहनुभएका पनौती नगरपालिका–७ कास्थानीयवासी विशेश्वर सैँजुले सोही क्रममा राखिएका नगपालिकाभित्रका फरक–फरक ठाउँका थरीथरीका तस्वीर एकै ठाउँमा हेर्न पाउँदा त्यही ठाउँमा पुगेजस्तो आनन्द लिन पाएको बताउनुभयो । कहिल्यै पनि नगएका आफ्नै नगरभित्रका विभिन्न ठाउँको अवस्था र ती ठाउँमा भएका सुन्दर एवं मनोरम दृश्य हेर्न पाउँदा निकै खुशी लागेको उहाँ बताउनुहुन्छ ।

सैँजुले भन्नुुभयो, “तस्वीर हर्दा लाग्यो, पनौतीमा धेरै राम्रा र मनमोहक दृश्यहरु भएको ठाउँ रहेछ ।” उहाँलाई त्यो अवसर पनौती पर्यटन विकास केन्द्रको आयोजना तथा पनौती नगरपालिकाको सहयोगमा पनौतीको इन्द्रेश्वर महादेव मन्दिरको प्राङ्गणमा भएको तस्वीर प्रदर्शनीले दिएको हो । ‘नेपाल भ्रमण वर्ष २०२०’ को अवसर पारेर आयोजना गरिएको तस्वीर प्रदर्शनीको उहाँ जस्तै धेरै स्थानीयवासीदेखि विदेशीले समेत अवलोकन गरिरहेका छन् । प्रदर्शनीमा अहिलेसम्ममा दुई हजार ३०० भन्दा बढीले अवलोकन गरिसकेको जनाइएको छ । पानी र हावाहुरीले असर नगर्ने गरी ‘प्रिन्ट’ गरी तस्वीर प्रदर्शनी गरिएको छ । गत पुस १६ गतेबाट शुरु गरिएको सो प्रदर्शनीले पनौतीको बारेमा सबै जानकारी लिन सकिने फोटो पत्रकार प्रशान्त श्रेष्ठले बताउनुभयो ।तस्वीर प्रदर्शनीमा राखेपछि आफू पुग्न नसकेको नगरपालिकाभित्रैका धेरै ठाउँका बारेमा जानकारी लिन पाएको र सुन्दर दृश्यका बारेमा बुझ्न पाएको उहाँले बताउनुभयो । प्रदर्शनीमा सम्पदा क्षेत्रको तस्वीर नै बढी रहेको श्रेष्ठले बताउनुभयो । पनौतीको वर्तमान अवस्थाका बारेमा जानकारी दिन हवाईजहाज र ड्रोनबाट खिचिएका तस्वीर राखिएको उहाँले बताउनुभयो ।

वडावासीको योगदानबाटै गरिएको तस्वीर प्रदर्शनीमा अवलोकन गर्न आउनेहरुले दिएको सुझावलाई समेत समेटेर आगामी दिनमा गर्नुपर्ने सुधारको विषयलाई सङ्कलन गरेर तस्वीर राखिएको आयोजकले जनाएको छ । प्रथमपटक गरिएको तस्वीर प्रदर्शनीबाट सङ्कलित सुझाव समेटी किताब नै प्रकाशन गरेर आगामी दिनमा अर्को तस्वीर प्रदर्शनी गर्न र ठाउँको बारेमा थप जानकारी दिन टेवा मिल्ने उहाँले बताउनुभयो ।तस्वीर प्रदर्शनीकै क्रममा पनौती नगरपालिकाभित्रैका वस्तुस्थिति झल्कने गरी खिचिएको तस्वीर प्रदर्शनीसँगै प्रतियोगिताका लागि राखिएको छ । प्रतियोगितामा आठ स्थानीयवासीले सहभागिता जनाएका छन् । प्रतियोगितामा फोटो पत्रकार भुवन भोछिभोया र गोपाल वैद्यलाई निर्णायकमा राखिएको आयोजक संस्था पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष राजेन्द्र महाजुले बताउनुभयो । पनौतीको वातावरण, जात्रा, संस्कृति र अन्य वस्तुस्थिति झल्कने गरी खिचिएका तस्वीरमध्ये उत्कृष्ट तीन जनालाई नगदसहित सम्मान गरिने उहाँले बताउनुभयो । तस्वीर प्रदर्शनीमा फोटो पत्रकार प्रशान्त श्रेष्ठ, अक्षय मधुकर्मी, पदम तामाङ, पुरुषोत्तम अधिकारी, राजकुमार श्रेष्ठ, राजेन्द्र महाजु, अनिष श्रेष्ठलगायतका तस्वीर राखिएका छन् ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता