रुकुमकोट हराउँदै खरका छाना | Samacharpati रुकुमकोट हराउँदै खरका छाना – Samacharpati
Samacharpati
शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • रुकुमकोट हराउँदै खरका छाना

रुकुमकोट हराउँदै खरका छाना

रुकुमकोट हराउँदै खरका छाना
रुकुमपूर्व, २० पुस । रुकुमकोटमा खरले छाएका घरका छाना विस्थापित हुँदै गएका छन् । ढुङ्गाका गारा, काठका ढोका, सानासाना झ्याल, घुमाउरा बार्दली र काठको बुइँगल हुने ती घरहरु पछिल्लो चरणमा हराउँदै गएका छन् । बुइँगलमा वर्षदिनको अन्न राखिन्थ्यो । घरका कुनै कुनामा तथा पिँढीमा जाँतो हुन्थे । आगनमा ढिकी हुन्थे । खरको छाना भएका ती घरका भित्ताहरु रातो माटो र कमेरोले पोतिएका हुन्थे । पिँढीमा बस्नका लागि मान्द्रो, मकैको खोस्राबाट तयार पारिएका चकटी, भेडाको ऊनबाट तयार पारिएका काम्लो लगायतका सामानहरु बिछ्याएर पाहुनाहरुको स्वागत गरिन्थ्यो । पछिल्लो समयमा एकपछि अर्को हुँदै ती पुख्र्यौली घर र सामानहरु लोप हुँदै गएका छन् ।
दुईतीन वर्षअगाडिसम्म जिल्लामा एउटा पनि पिल्लरवाला पक्की घर निर्माण भएका थिएनन् । पछिल्लो समयमा दुई वर्षभित्रैमा रुकुम (पूर्व)ले आफ्नो मुहार फेरेको छ । सदरमुकाम रुकुमकोटलगायत जिल्लाका अन्य ठाउँमा पनि धमाधम सिमेन्टका पक्की घरहरु बन्ने लहर चलेको छ । पुराना शैलीका घरहरु विस्थापित गर्दै मानिसले धमाधम पक्की घरहरु बनाउन थालेका छन् । नयाँ घरहरु नयाँ शैलीमै बन्न थालेपछि पुख्र्यौली घरहरु सङ्कटमा परेका हुन् । देशमा सङ्घीयता लागू भएसँगै नयाँ जिल्ला बनेको रुकुम (पूर्व)मा विकासको गतिसँगै परिवर्तन पनि छिटोछिटो हुँदै गएको छ । नयाँ जिल्लाको नयाँ सदरमुकाम बनेको रुकुमकोटमा नयाँ घर, नयाँ होटेल र नयाँ व्यवस्थापनले रुकुमकोटको स्वरुप नै फेरिएको स्थानीय बुद्धिजीवी कृष्ण रेग्मीले बताउनुभयो । आजभोलि गाउँघरमा कतैकतै मात्र खरको छाना भएका पुराना घरहरु देख्न सकिन्छ तर खरको छाना भएका नयाँ घरहरु भने कतै पनि भेटिँदैनन् ।
अधिकांश मानिसहरुले घरको छानो टिनले छाएका छन् भने कतिपयले पक्की घर बनाउँदैछन् । जिल्लाको सिस्ने गाउँपालिकाले २० वर्षे गुरुयोजना बनाउँदा पनि खरको छाना भएको नयाँ घर निर्माण गरेमा खरको छाना भएको घर बनाउनेलाई सात हजार नगद पुरस्कारले सम्मान गर्ने योजनासमेत पास गरेको थियो । गुरुयोजना निर्माण गरेको दुई वर्षभन्दा बढी समय भइसक्दा पनि अहिलेसम्म कसैले खरको छाना भएको घर निर्माण नगरेको र प्रोत्साहनस्वरुप प्रदान गर्ने भनिएको सात हजार रकम पनि कसैले नलिएको सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो । गाउँघरमा जाँदा बूढापाकाहरुले ढुङ्गा माटोले बनेका र घरको छाना भएका घरमा जति आनन्द सिमेन्टका घरमा नहुने गरेको बताएका छन् ।
पहिले माटोको घरमा बस्दा दाउरा बालेर आगो ताप्ने घर नै न्यानो हुने गरेको सिस्ने गाउँपालिका–६ की भारती शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मीमा शीतल, चिसोमा न्यानो हुने हुँदा स्वास्थ्यलाई पनि फाइदा हुने गथ्र्यो ।” अहिले बनेका सिमेन्टका घरहरुमा गर्मीमा सही नसक्नुको गर्मी र चिसोमा पनि सही नसक्ने चिसो हुुने गरेको उहाँको भनाइ छ । पछिल्लो चरण्मा पुराना शैलीका घरमात्र होइन, मौलिक पहिचान झल्कने संस्कृति, चालचलन, रीतिरिवाज, भाषा, कला पनि लोप हुँदैगएका छन् । पुख्र्यौली घरको ढाँचा, शैली र आकर्षणलाई कसैले पनि बिर्सन नहुने गाउँका बुद्धिजीवीहरु बताउँछन् ।

आजको ट्रेन्डिङ समाचार