मकवानपुर जिल्लाको विकट मानिएको कैलाश गाउँपालिकामा सडक निर्माण तथा स्तरोन्नति • Nepal's Trusted Digital Newspaperमकवानपुर जिल्लाको विकट मानिएको कैलाश गाउँपालिकामा सडक निर्माण तथा स्तरोन्नति • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मकवानपुर जिल्लाको विकट मानिएको कैलाश गाउँपालिकामा सडक निर्माण तथा स्तरोन्नति

मकवानपुर जिल्लाको विकट मानिएको कैलाश गाउँपालिकामा सडक निर्माण तथा स्तरोन्नति

  • मङ्लबार, पुस ८, २०७६
मकवानपुर जिल्लाको विकट मानिएको कैलाश गाउँपालिकामा सडक निर्माण तथा स्तरोन्नति

हेटौँडा, ८ पुस । मकवानपुर जिल्लाको विकट मानिएको कैलाश गाउँपालिकामा पाँचवटा सडक निर्माण तथा स्तरोन्नति हुने भएको छ । गोगने–कालीकाटार, गैरीगाउँ–गोगने–पकनी–डाँडाखर्क, भार्ता–डाँडाखर्क–छ्याङ्दुङ–खोलाखर्क र स्यार्से– घैराङलगायत सडक निर्माण तथा स्तरोन्नति हुने भएको हो । यसका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा करिब रु पाँच करोड विनियोजन गरेको छ । विनियोजित रकममध्ये १४ किलोमिटर लम्बाइ भएको गोगने– कालीकाटार तथा गैरीगाउँ–गोगने–पकनी–डाँडाखर्क सडक रु एक÷एक करोडको लागतमा निर्माण हुने छ भने काँकी रकमबाट भार्ता–डाँडाखर्क–छ्याङ्दुङ–खोलाखर्क र स्यार्से–घैराङको सडकको स्तरोन्नति तथा निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा सडक निर्माण गर्ने योजना रहेको कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानले जानकारी दिनुभयो । प्रदेश सरकारको सशर्त अनुदानअन्तर्गत रु ५० लाखको लागतमा केही सडकको स्तरोन्नति हुँदैछ । अध्यक्ष मोक्तानका अनुसार निर्माण गरिने सडकमध्ये तीनवटा सडक मकवानपुरको भीमफेदी गाउँपालिकाको चुनियाँदेखि नामटार, कालीकाटार, भार्ता, डाँडाखर्क, गोगने हुँदै थाहा नगरपालिकासम्म जोड्ने योजना छ । हाल सडक अभावमा कैलाशको कतिपय क्षेत्रमा पुग्न घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । सडक बनेकै स्थानमा पनि सडक कच्ची र नाला नभएका कारण वर्षायामसँगै सडक अवरुद्ध हुने गर्दछ । सडक निर्माणपछि स्थानीयवासीको आवतजावतमा सहजता आउने विश्वास गरिएको छ ।

यसका साथै कृषि उत्पादनको बजारीकरण तथा मलखादको आयातलगायतमा सहज हुने स्थानीयवासी बताउँछन् । सडकको निर्माण हुने हो भने यहाँको थुप्रै पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरेर आन्तरिक तथा बाह्य पर्यटकसमेत भित्र्याउन सकिने स्थानीयवासी साजन लामा बताउनुहुन्छ । कैलाश गाउँपालिकामा नेपाल सरकारको विशेष अनुदानमा अन्य छ वटा योजना पनि सम्पन्न हुने भएका छन् । विशेष अनुदानअन्तर्गत यो गाउँपालिकाका लागि रु दुई करोड ५० लाख विनियोजन भएको बताइएको छ ।

उक्त रकमबाट बढीमा रु ५० लाखसम्मको योजना सम्पन्न हुनेछन् । कैलाश गाउँपालिकाको माध्यमिक विद्यालयमा पुस्तकालय निर्माणका लागि रु ५० लाख, माध्यमिक विद्यालयको विज्ञान प्रयोगशाला निर्माणका लागि रु ५० लाख, विद्यालयमा अध्ययनरत चेपाङ तथा विपन्न परिवारका विद्यार्थीका लागि दिवा खाजा खुवाउन रु ५० लाख विनियोजन भएको जनाइएको छ । त्यस्तै अर्थ मन्त्रालयले महिलाको पाठेघर समस्याको विषयमा जनचेतना जगाउँदै शिविर सञ्चालनका लागि रु २५ लाख, एक घर एक धारा निर्माणका लागि रु ३५ लाख, एक घर एक शौचालय निर्माणका लागि रु ४० लाख अनुदान रकम निकासा गर्न लागेको गाउँपालिकाले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका