तनहुँको धरमपानी स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या | Samacharpati तनहुँको धरमपानी स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या – Samacharpati
Samacharpati
शुक्रबार, कार्तिक ५, २०७८
  • होमपेज
  • तनहुँको धरमपानी स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

तनहुँको धरमपानी स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

  • रासस
  • मङ्लबार, मंसिर १७, २०७६
तनहुँको धरमपानी स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

दमौली, १७ मङ्सिर । तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित धरमपानी स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारणको उपचारमा समस्या परेको छ । समायोजनका क्रममा दुई महिनाअघि अन्यत्र गएका र सरुवा भएर आउनुपर्ने स्वास्थ्यकर्मी नआएका कारण कर्मचारीको अभाव भएको हो । स्वास्थ्यचौकीका प्रमुख सिनिअर अहेव धर्मराज बढुले स्वास्थ्यकर्मीको अभावमा सेवा दिन असहज भएको बताउनुभयो । दैनिक १५ देखि २० सर्वसाधारण उपचार सेवा लिन आउने स्वास्थ्यचौकीमा बढु र एक कार्यालय सहायक मात्र कार्यरत हुनुहुन्छ ।

आफू एक्लैले कार्यालयको प्रशासनिक काम, बिरामीको स्वास्थ्य परीक्षण र औषधि वितरणको काम गर्नुपरेको बढुले बताउनुभयो । “एक्लैले सबै काम गर्नुपर्दा कठिनाइ भइरहेको छ”, बढुले भन्नुयो, “जसकारण सबै बिरामीलाई सेवा दिन सकिएको छैन ।” बिरामीको स्वास्थ्य परीक्षण गर्ने अहेव र स्वास्थ्य सहायक नै नभएपछि सेवा लिन आउने सबै सर्वसाधारणलाई सेवा दिन नसकिएको उहाँको गुनासो छ ।

बढुका अनुसार सरुवा भएर आउने कर्मचारी नआउने भएमा अर्काे विकल्प खोज्न गाउँपालिकालाई अनुरोध गरिएको छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सरुवा भएर आउने स्वास्थ्यकर्मीको टुङ्गो लागिसकेपछि अर्काे व्यवस्था गरिने जानकारी दिँदै सर्वसाधारणको स्वास्थ्यप्रति गाउँपालिका गम्भीर रहेको बताउनुभयो । स्थानीयवासी रामबहादुर गुरुङले स्वास्थ्यचौकीमा एक मात्रै स्वास्थ्यकर्मी भएका कारण सेवा लिन धेरै समय कुर्नुपरेको बताउनुभयो ।

आजको ट्रेन्डिङ समाचार