तेह्राैँ साग खेलकूद प्रतियोगिताले महिला भलिबलमा नेपाललाई इतिहास रच्ने अवसर | Samacharpati तेह्राैँ साग खेलकूद प्रतियोगिताले महिला भलिबलमा नेपाललाई इतिहास रच्ने अवसर – Samacharpati
Samacharpati
आइतवार, मंसिर १२, २०७८
  • होमपेज
  • तेह्राैँ साग खेलकूद प्रतियोगिताले महिला भलिबलमा नेपाललाई इतिहास रच्ने अवसर

तेह्राैँ साग खेलकूद प्रतियोगिताले महिला भलिबलमा नेपाललाई इतिहास रच्ने अवसर

  • रासस
  • शनिबार, मंसिर १४, २०७६
तेह्राैँ साग खेलकूद प्रतियोगिताले महिला भलिबलमा नेपाललाई इतिहास रच्ने अवसर

काठमाडौँ, १४ मड्सिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलमा नेपाललाई आज इतिहास रच्ने अवसर प्राप्त भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा आज हुने सेमिफाइनलमा श्रीलङ्कालाई पराजित गर्न सके नेपाल सागमा पहिलो पटक रजत पदकको हकदार बन्ने छ । नेपालले सागमा अहिलेसम्म महिला भलिबलमा कास्य पदक मात्र जित्न सकेको छ । नेपाल समूह ‘ए’को उपविजेता भइ सेमिफाइनल प्रवेश गरेको हो । नेपाली राष्ट्रिय महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट नेपाली महिला टोलीले सेमिफाइनलमा श्रीलङ्कालाई हराउनेमा ढुक्क छन् ।

उनले जसरी पनि फाइनल पुग्ने योजना बनाएको बताउनुभयो । नेपालले यसअघि पनि श्रीलङ्कालाई पराजित गरेकाले महिला टोलीको मनोबल बढेको प्रशिक्षक भट्टले बताउनुभयो । छ वर्षअघि काठमाडौँमा सम्पन्न दक्षिण एशियाली च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको थियो । यस्तै समूह ‘बी’को विजेता भएर श्रीलङ्काले नेपालसँगको सेमिफाइनल पक्का गरेको छ । नेपालले समूह चरणको खेलमा बङ्गलादेशलाई ३–० ले हराएको थियो भने भारतसँग ३–० ले पराजित भएको थियो । भारतले बङ्गलदेशलाई पराजित गरेपछि नेपालको सेमिफाइनल यात्रा तय भएको हो । बङ्गलादेश महिला भलिबलको समूह चरणबाटै बाहिरिएको छ । आजै महिला भलिबलको अर्को सेमिफाइनलमा समूह ‘ए’को विजेता भारत तथा समूह ‘बी’को उपविजेता माल्दिभ्सबीच खेल हुने छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा शुक्रबार सम्पन्न खेलमा भारतले बङ्गलादेशलाई २५–८, २५–११ र २५–९ तथा श्रीलङ्काले माल्दिभ्सलाई २५–१५, २५–१८ र २५–१४ अङ्कले पराजित गरी सेमिफाइनल प्रवेश गरेका हुन् । यसैगरी पुरुष भलिबलमा शुक्रबार भारतले नेपाललाई २५–१५, २५–१३ र २५–१६ ले हराउदै समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुग्यो । पराजयसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । समूह ए बाटै उपविजेता भइ बङ्गलादेशसमेत सेमिफाइनलमा प्रवेश गरेको छ । पुरुष भलिबलकै अर्को खेलमा श्रीलङ्काले माल्दिभ्सलाई २५–१८, २५–२३ र २५–१७ अङ्कले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ । समूह चरणको दुवै खेलमा हारेपछि माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘बी’ को अन्तिम खेल आज श्रीलङ्का र पाकिस्तानबीच हुने छ । उक्त खेलबाट समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

आजको ट्रेन्डिङ समाचार