लुुम्लेमा नवाह ज्ञान महायज्ञ सुरु | Samacharpati लुुम्लेमा नवाह ज्ञान महायज्ञ सुरु – Samacharpati
Samacharpati
बिहिबार, भदौ ३१, २०७८
  • होमपेज
  • लुुम्लेमा नवाह ज्ञान महायज्ञ सुरु

लुुम्लेमा नवाह ज्ञान महायज्ञ सुरु

लुुम्लेमा नवाह ज्ञान महायज्ञ सुरु

अन्नपूर्ण(लुम्ले), १२ असोज। कास्कीको अन्नपूर्ण गाउँपालिका ६ स्थित लुम्लेमा रहेको कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ शनिवारदेखि महायज्ञ सुरु भएको छ । यहि असोज १९ गतेसम्म जारी रहने उक्त श्रीमद्भागवत महापुराण एवं देवी भागवत नवाह ज्ञान महायज्ञको आज एक कार्यक्रमका बीच गण्डकी प्रदेश सांसद राजीप पहारीले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै सांसद पहारीले धर्म जनताको आस्था भएको भन्दै धर्म परिवर्तनका नाममा हुने सबै खाले क्रियाकलापको अन्त्य गर्नुपर्नेमा जोड पनि दिए। कविता गाउँ तथा गायक प्रवीण गुरुङको गाउँले परिचित लुम्ले आँफैमा धार्मिक पर्यटकीय क्षेत्र भएको उनको भनाई थियो।

महायज्ञका प्रमुख वाचक कथा शिरोमणि पं. दिपकप्रसाद पौडेलले लुम्लेलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ यज्ञ थालिएको बताए । उनले कालिका मन्दिरलाई दशैं घरका रुपमा लिन लुम्लेवासीमा आग्रह पनि गरे। वडाध्यक्ष तथा यज्ञका सह–संरक्षक चित्रबहादुर गुरुङले यज्ञमा सामुहिक पितृ तर्पण, हवन, अन्नदान, भुमिदान, तुलादान, धान्याञ्चल, ब्राम्हण भोजन, विवाह, व्रतबन्ध, गुन्युचोली, नवग्रहपुजा, चौरासी पुजा सहित पितृको तस्विर राखी आरती अर्पण गर्दै दान गर्न सकिने जनाए ।

कार्यक्रममा कर्ता भक्तिराम देवकोटा, सचिवालय सदस्य लक्ष्मण देवकोटा, नेपाली काँग्रेस वडा सभापति केदारनाथ देवकोटा, स्थानीय सिद्घ आधारभूत विद्यालयमा प्रधानाध्यापक टंकप्रसाद देवकोटा, कान्छी वराह महिला बचत तथा ऋण सहकारीकी अध्यक्ष जैमाया देवकोटा, पहिलो स्वच्छ वातावरणका अध्यक्ष चन्द्रप्रसाद देवकोटा, एपेक्स कन्सट्रक्सनका प्रोजेक्ट म्यानेजर काशीराज बोहोरा, लालीगुराँस टोल विकास संस्थाका अध्यक्ष बमबहादुर केसी, प्रगति आमा समूहकी अध्यक्ष मैयाँ देवकोटा, दलित समूदायको तर्फबाट विष्णुमाया विकले पनि धारणा राखेका थिए । यज्ञ समुद्घाटन पूर्व स्थानीय लुम्ले घुम्तीदेखि सुरु शोभायात्रा पुरानो घडेरी हुँदै महायज्ञ स्थल सिद्घ आधारभूत विद्यालयको प्राङगण पुगेको थियो। जसमा सयौं लुम्लेवासीले सहभागिता जनाएका थिए ।

यस पटकको दशैँका लागि आइतवार लुम्लेवासीले महायज्ञ स्थलमा सामुहिक जमरा पनि राख्दै छन् ।त्यस्तै सामुहिक टिका लगाउने योजना पनि उनीहरुले बनाएका छन्।यज्ञबाट रु.५० लाख दान संकलन गर्ने लक्ष्य राखिएको छ।यज्ञमा उधारोलाई भने निशेष गरिएको छ। मूल आयोजक समितिका अध्यक्ष भरत देवकोटाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रथम उपाध्यक्ष एकदेव देवकोटाले स्वागत तथा महासचिव दिनेशकुमार जिसीले संचालन गरेका थिए ।

श्रीभद्र पौडेल

आजको ट्रेन्डिङ समाचार