स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संविधान प्रदत्त स्वास्थ्य सम्बन्धी मौलिक हक आम नागरिकले उपभोग गर्न पाउने अवसर सिर्जना गर्न भन्दै नयाँ स्वास्थ्य नीति २०७६ सार्वजनिक गरेको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ६ वटा उद्देश्य, २५ नीति र १४६ रणनीति रहेको स्वास्थ्य नीति सार्वजानिक गर्नुभएको हो । सङ्घीय संरचनाअनुरूप सबै किसिमका स्वास्थ्य प्रणालीलाई विकास, विस्तार र सुधार, सबै तहका स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवाको गुणस्तरमा सुधार, सहज पहुँच सुनिश्चित, अति सीमान्तकृत वर्गलाई समेट्दै सामाजिक स्वास्थ्य सुरक्षा पद्धतिलाई सुदृढ गर्नु नयाँ नीतिको उदेश्य रहेको यादवले जानकारी दिनुभयो । सबै तहका स्वास्थ्य संस्थाबाट तोकिए बमोजिम निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित, स्वास्थ्य बीमामार्फत् विशेषज्ञ सेवाको सुलभ पहुँच, सबै नागरिकलाई आधारभूत आकस्मिक स्वास्थ्य सेवाको पहुँच विस्तार गरिने मन्त्रालयको नीति रहेको छ । यसैगरी, जनसांख्यिक तथ्याङ्क व्यवस्थापन, अनुसन्धान तथा विश्लेषण गरी निर्णय प्रक्रिया तथा कार्यक्रम तर्जुमासँग आबद्ध, प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्दै संक्रामक रोग नियन्त्रण तथा व्यवस्थापनका लागि एकद्वार स्वास्थ्य पद्धतिको विकास तथा विस्तार गरिने विषय नीतिमा समेटिएको छ । जनशक्ति, पूर्वाधार, उपकरण र औषधिजस्ता स्वास्थ्य सेवाका अति आवश्यकीय क्षेत्रको विकास र विस्तारमा सरकारको प्राथमिता रहेको मन्त्री यादवले जानकारी दिनुभयो । उहाले बीमा कार्यक्रममा सवै जनतालाई समेट्ने नीति सरकारको रहेको भन्दै यस क्षेत्रलाई सुदृढ बनाउन थप लगानी गरिने बताउनुभयो । गत जेठ १० गते मन्त्रिपरिषद्को बैठकले उक्त नीति स्वीकृत गरेको थियो । पछिल्लो स्वास्थ्य नीति २०७१ कार्यान्वयनमा आएको थियो ।