सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले समृद्धिको राष्ट्रिय नीति नै बनाएर अघि बढ्न नेतृत्वलाई सुझाव दिएका छन् । संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा सोमबार बसेको नेकपा संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरुले अहिलेकै गति र मतिले समृद्धिमा पुग्न नसकिने भन्दै राष्ट्रिय नीति नै बनाउन सुझाव दिएका हुन् । आफूहरुलाई जिम्मेवारी नदिएका कारण सरकारका काम–कारबाही जनतासम्म पुग्न नसकेको गुनासो गर्दै सांसदहरुले बजेट विनियोजन निष्पक्ष र समानुपातिक नभएको भन्दै आलोचना गरेका थिए । उनीहरुले मन्त्री र शक्तिशाली सांसदहरुको क्षेत्रमामात्रै बजेट विनियोजन गरेको गुनासोसमेत गरेका छन् । बैठकमा सहभागी केही सांसदहरुले भने पार्टी सन्चालनको अहिलेको प्रक्रिया नै उचित नभएको भन्दै पार्टी र सरकारलाई प्रभावकारी बनाउन सन्चालन पद्धति परिवर्तन गर्न आग्रह गरे । बैठकको सुरुमा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकका एजेन्डाबारे जानकारी गराउनुभएको सांसद देवेन्द्र पौडेलले जानकारी दिनुभयो । पार्टी सरकार तथा बिधेयकका बिषयमा भएका कमकमजोरीका बारेमा पनि गम्भीर छलफल भएको उहाले बताउनुभयो । त्यस्तै सांसद देव गुरुङले बैठकमा अध्यक्षद्वयले पार्टीको एकताको काम छिटो टुङ्ग्याउने बताउनुभएको जानकारी दिनुभयो । सरकारका निर्णयहरु, संसदमा दर्ता भएका विधेयकहरु, पार्टी सन्चालन पद्धतिलगायतका विषयमा सांसदहरुका फरक–फरक धारणा आउन थालेपछि एकरुपता ल्याउन भन्दै बैठक बोलाइएको हो । सांसदहरुले धारणा राख्ने क्रम नसकेपछि संसदीय दलको बैठक असार २१ गते पुन बस्ने नेताहरुले जनाएको छ ।