पहिलो चरणमा ५७जनालाई रोजगार, ६ सय बढि बेरोजगारको आवेदन
स्याङ्जा, ३० जेठ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले रोजगार कार्यक्रम सुरु गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कामका लागि पारिश्रमिकका आधारित सामुदायिक आयोजना बमोजिम उक्त कार्यक्रमले पहिलो चरणमा बेरोजगारमा सुचिकृत ५७ जना ब्यक्तिलाई सडक मर्मत सम्बन्धि काम प्रदान गरिएको हो । पाँचवटै वडाबाट ६ सय ४९ जनाको आवेदन परेकोमा निवेदकको आर्थिक अवस्था र रोजगारीको आवश्यकताको प्राथमिकताको आधारमा पहिलो चरणमा १८ देखि ५९ बर्षका ५७ जनालाई छनोट गरिएको गाउँपालिकाले जनाएको छ ।
छनोट हुनबाँकी रहेका अन्य निवेदकलाई आगामीआर्थिक बर्षमा समेटिदै लैजाने गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । अध्यक्ष सुवेदीकाअनुसार छनोट भएका प्रत्येक व्यक्तिले न्युनतम १० दिनको दरले रोजगार पाउनेछन् र दैनिक ७ सय ५० पारिश्रामिक प्रदान गरिनेछ । फेदीखोला–खड्केटारी–बाँगे–पञ्चासे, कुभिण्डे–मट्टिखान–नुवाकोट, सर्केटारी–पञ्चासे, सर्केटारी–टोड्के, फेदीखोला–कालाभैरब–नुवाकोट, फेदीखोला–पोखरी–कर्मीडाँडा–मट्टिखान सडक खण्ड मर्मत सम्भारमा उक्त जनशक्ति परिचालन गरिनेछ ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले प्रधानमन्त्री रोजगार कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागिताले रोजगार कार्यक्रमको महत्वलाई थप बढाउनुको साथै प्रभावकारी रुपमा सदुपयोग हुने विश्वास व्यक्त गरेका छन् । आफ्नो क्रियाशिल उमेर, शक्ति, जोस र जाँगर घरपरिवारसँग टाढिएर खाडीमा गएर खर्चिनु भन्दा आफ्नै ठाउँमा खर्चिदा विकास सँगसँगै सन्तुष्टि मिल्ने उनको भनाई थियो । ‘बाहिर गएर जोखिमसाथ थ्रि डि (डर्टी, डेन्जर र डिफिकल्ट) काम गर्नुभन्दा आफ्नै क्षेत्रमा खटिनुहोस्, तपाईले आफ्नो पारिश्रामिक सँगै आफ्नै क्षेत्र पनि विकास गरिरहनुभएको हुन्छ ।’ सहभागीलाई आह्वान गर्दै अध्यक्ष सुवेदीले बाँकी रहेका निवेदकलाई समेटिदैँ लैजाने जानकारी दिएका थिए ।
कार्यक्रमका संयोजक रुपक बरालले रोजगार ऐनले प्रत्येक व्यक्तिलाई एक आर्थिक बर्षमा न्युनतम १०० दिनको रोजगारी प्रत्याभुत गरेको र त्यसलाई सार्थक दिलाउनुको साथै अझ बृहत बनाउन गाउँपालिकाको रोजागार सेवा केन्द्र लागि परेको बताए । यसैबीच सहभागीलाई बुधबार नै संयुक्त रुपमा गल, गैँची, बेल्चा, गाडा, घन, फोरुवा, ज्याकेट, हेल्मेट, पञ्जा लगायतका निर्माण सामाग्री हस्तान्तरण गरिएको थियो भने छनोट भएका प्रत्येक व्यक्तिको शुल्य मौज्दातमा बैंक खाता पनि खोलिएको छ । कामदारको पारिश्रमिक बैंक खाताबाट नै प्रदान गरिनेछ ।कार्यक्रममा वडा नं. १ काअध्यक्ष खिमबहादुर क्षेत्रीले कर्तव्यनिष्ठ भएर कामगर्न निर्देशन दिएका थिए । कार्यक्रममा २ का अध्यक्ष हिमालयजंग बाँनिया र प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्माको सहभागिता रहेको थियो ।