गण्डकी प्रदेशको बजेट : कृषिमा ३३ करोड ३९ लाख बजेट | Samacharpati गण्डकी प्रदेशको बजेट : कृषिमा ३३ करोड ३९ लाख बजेट – Samacharpati
Samacharpati
बिहिबार, अशोज २८, २०७८
  • होमपेज
  • गण्डकी प्रदेशको बजेट : कृषिमा ३३ करोड ३९ लाख बजेट

गण्डकी प्रदेशको बजेट : कृषिमा ३३ करोड ३९ लाख बजेट

गण्डकी प्रदेशको बजेट : कृषिमा ३३ करोड ३९ लाख बजेट

पोखरा, २ असार । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारले कृषिमा ३३ करोड ३९ लाख बजेट विनियोजन गरेको छ ।

गण्डकी प्रदेश सरकारले आगामी पाँच वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर हुने गरी कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरणका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । यस्तै उन्नत बीउविजन, मलखादको व्यवस्था तथा सिचाईको प्रबन्ध गर्दै उन्नत खेती र उच्च मूल्यका बालीको विकास गर्न बजेटको व्यवस्था गरेको छ । गरिबी निवारण र रोजगारी सृजनाका लागि स्थानीय तहमा मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ स्थापना गर्ने कार्यक्रमलाई परिमार्जन सहित विस्तार गर्न १६ करोड ८९ लाख बजेटको व्यवस्था मिलाएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।

कृषि पेशामा लागेका व्यक्तिलाई थप प्रोत्साहन गर्न कृषि बाली, फलफुल, पशुपंक्षी तथा मत्स्य बिमालाई प्रभावकारी बनाउन आवश्यक व्यवस्था मिलाएको प्रदेशले जनाएको छ । जोखिम न्यूनिकरण गर्नको लागि कृषक र बिमा कम्पनीसँग समन्वय गरी प्रतिफलमा आधारित बिमा कार्यक्रम कार्यान्वयन गर्न बजेटको व्यवस्था गरेको छ । कृषि तथा पशुपंक्षी व्यवसायलाई प्रवद्र्धन गर्न कृषकले बैंकबाट लिएको ऋणको व्याज भुक्तानीमा अनुदान उपलब्ध गराउन ३ करोड विनियोजन गरेको प्रस्तुत बजेटमा उल्लेख छ ।

सरकारले प्रदेश दुग्ध विकास बोर्ड स्थापनाको लागि बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले कृषिबाली, फलफुल, पशुपंक्षी र मत्स्यका व्यवसायिक मोडेल फर्ममा प्रदान गर्दै आएको अनुदान कार्यविधिमा परिमार्जन गर्ने जनाएको छ । पशु प्रजननका लागि उन्नत नश्लनका पशु आयात गर्ने, फलफूलको हाइटेक नर्सरी स्थापना गर्ने र टिस्युकल्चर प्रविधिको अबलम्बन गरी समग्र कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्न आवश्यक बजेटको व्यवस्था गरेको छ । मौसमी तथा बेमौसमी कृषि उपजको संरक्षण र सुरक्षित भण्डारणका लागि मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, नवलपुर र तनहुँमा कोल्ड स्टोर निर्माण गर्न रू ९ करोड विनियोजन गरेको छ ।

सरकारले व्यावसायिक कृषिमा आबद्ध भएकालाई ज्ञान, सीप र दक्षता अभिवृद्धि गराउन कृषक तालिम कार्यक्रम सञ्चासलन गर्न बजेटको व्यवस्था गरेको छ । कृषि तथा पशुपंक्षीजन्य महामारी रोग नियन्त्रण र दैवी प्रकोपबाट हुने क्षतिको न्यूनीकरण र राहत वितरणका कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेटको व्यवस्था मिलाएको छ ।

गण्डकी प्रदेश सरकारले किसानसँगको साझेदारीमा साना तथा नयाँ प्रविधिमा आधारित सिंचाई आयोजना पहिचान गरी सञ्चासलन गर्ने कार्यक्रमलाई निरन्तरता दिन बजेटको व्यवस्था गरेको छ । भू–उपयोग नीति तर्जुमा गरी कृषियोग्य भूमि बिस्तारको लागि चक्लाबन्दी खेती तथा करार खेतीलाई प्रोत्साहन गर्ने व्यवस्था मिलाएको छ । एकीकृत भू–उपयोग नीति अनुरूप बस्ती विकास गर्न आवश्यक बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले जानकारी दिनुभएको छ ।

मनाङ, मुस्ताङ, उत्तरी गोर्खा लगायतका अन्य क्षेत्रमा उन्नत जातका स्याउको बिरूवा वितरण गर्न रू ४ करोड ५० लाख विनियोजन गरेको छ । अर्गानिक कृषि उपजको उत्पादन र उपभोग बढाउन विषादी रहित खाद्यान्न उत्पादन र उपभोग गर्ने सँस्कृतिको विकास गर्न कृषक तथा उपभोक्तालाई उत्प्रेरित गर्ने कार्यक्रमकालागि बजेटको प्रबन्ध गरेको छ । विषादीको प्रयोगलाई न्यूनिकरण गर्न प्रदेशको प्रवेश विन्दु तनहुँको आँवुखैरेनी र स्याङजाको राम्दीमा द्रुत विषादी अवशेष परीक्षण प्रयोगशाला स्थापना भईसकेकोले यसको पूर्वाधार निर्माण र सञ्चाशलनका लागि थप बजेटको व्यवस्था मिलाएको छ ।

स्थानीय तहसँगको सहकार्यमा स्वच्छ मासु उत्पादन तथा वितरणको प्रबन्ध गर्न दश स्थानमा आधुनिक बधशाला निर्माण गर्ने व्यवस्था मिलाएको छ । फ्रेसहाउस सुधार कार्यक्रम समेतका लागि बजेटको व्यवस्था गरेको छ । साथै, पोखरामा आधुनिक बधशाला निर्माण गर्न पोखरा महानगपालिकासँग साझेदारी गर्ने प्रबन्ध मिलाएको छ ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता