काठमाडौं । नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर डाक्टर बनेको आरोपमा थप २ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाडौंमा रहेको इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका सीआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार चौधरीलाई आज बिहान मोरङबाट र शिल्पकारलाई गएराति काठमाडौंबाट पक्राउ गरिएको हो । नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्युरोले अपरेसन थालेको छ ।
सीआईबीले बिहीवार कांग्रेसका सांसद सुनीलकुमार शर्मासहित पाँचजनालाई पक्राउ गरेको थियो ।