खोटाङ । खोटाङ उद्योग वाणिज्य संघले जिल्लामा वार्षिक १५ अर्बको आयात हुँदा २५ करोड बराबरको निर्यात हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ।
शनिबार आयोजित २५औं साधारणसभा तथा ११औं अधिवेशन उद्घाटन–सत्रमा वाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले आयत र निर्यातबीचमा धेरै ठूलो खाडल रहेको तथ्यांक सार्वजनिक गरेका हुन्। बिदेसिएका युवाले वार्षिकरुपमा पठाउने १० अर्बले जिल्लाको अर्थतन्त्र चलायमान बनाइरहेको अध्यक्ष राईले बताए। उनका अनुसार जिल्लामा वार्षिक १५० करोडको मदिरा भित्रिने गरेको छ।
अलैंची, जडिबुटी तथा खसी, बोका, भेनियर लगायतले जिल्लाको निर्यातलाई धानिरहेको अध्यक्ष राईले उल्लेख गरे। ‘वार्षिक झण्डै १५० करोडको मदिरा, सय करोडको खानेतेल, १३० करोडको खानेतेल, १३० करोडको दालचामल, १९० करोडको चाउचाउ बिस्कुट, १५० करोडको कपडा जुत्ता, ६० करोडको मोबाइल कम्प्युटर, ५० करोडको इन्टरनेट रिचार्ज, ६० करोडको इन्धन, ३० करोडको श्रृंगार कस्मेटिक, तीन सय करोडको निर्माण सामग्री लगायत १५ अर्बभन्दा बढीको वस्तु तथा सेवा आयतमा खर्च हुन्छ,’ अध्यक्ष राईले भने ‘अलैंची, जडिबुटी तथा खसी, बोका, भेनियर–काठ लगायत सीमित वस्तुहरु मात्र २५ करोडको हाराहारीमा जिल्ला बाहिर निकासी हुने आँकडा छ।’
संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारद्धारा गरिने विकास खर्चबाट सिर्जना हुने सीमित रोजगारी बाहेक अनौपचारिक रुपले निजी क्षेत्रमा उपलब्ध रोजगारीको हिस्सा ठूलो रहेको जनाएको छ।