बर्दिया । बर्दियामा खसीको मासुमा मिसावट गरेको भेटिएको छ । बर्दियाका आठ वटै पालिकाभित्रका मुख्य बजारहरूमा खसीको मासुमा मिसावट गरी बेचेको गुनासोका आधारमा अनुगमन गर्दा उपभोक्तालाई ठगी गरेको पाइएको हो ।
ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ बजारमा बाख्राको मासुलाई खसीको मासु भनी बेच्न तयार पार्दै गरेको अवस्थामा अनुगमनमा खटिएको टोलीले शेरअली कुरेसीलाई पक्राउ गरेको छ । टोलीले शेरअली कुरेसी मासु पसलबाट १६ किलो मासु जफत गरेर नष्टसमेत गरेको छ । मासु पसल सञ्चालक कुरेसीलाई १० देखि २० हजार रुपैँयासम्म न्यूनतम जरिबाना हुनसक्ने सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालले बताउनुभयो ।
बिहानै बाख्रा काटेर खसीको मासु भनेर पसलमा बेच्न लैजान तयार बनाइरहेको अवस्थामा अनुगमन टोलीले फेला पारेको हो । उनले खसीको मासु भनेर दाबी गर्दै थिए, अनुगमन टोलीले खसी हो भने खसीको अङ्गजस्तै अण्डकोष खोइ भनेर प्रश्न गर्दा बाख्राको छालाभित्र बोसो भरेर डल्लो बनाएर देखाउन थालेपछि प्रमाण फेला परेको उद्योग वाणिज्य सङ्घ ठाकुरबाबाका अध्यक्ष गोविन्दप्रसाद आचार्यले भन्नुभयो ।
यस्तै अर्का मासु पसल सञ्चालक दिनेश विकले पनि दिनेश भाई समिक्षा फ्रेस हाउसमा खसीको मासु र बाख्राको मासु आफूले बेच्ने गरेको स्वीकार गरेका छन् । विकले सरसफाइमा ध्यान नदिएको र बाख्राको मासु पनि पाइन्छ भनेर खुलस्त नपारेको, खसीको मासु र बाख्राको मासुको मूल्यसूची नटाँसेकोले पहिलो पटकका लागि सचेत गराइएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो ।