काठमाडौं I विनोद भण्डारीको शानदार अर्धशतकको मद्दतमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा स्थान पक्का गरेको छ।
१४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेटको क्षतिमा १४१ रन बनाउँदै सहज जित दर्ता गर्यो।
ओपनर विनोद भण्डारीले अविजित ५८ रन बनाए। ५५ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे। कप्तान दीपेन्द्र सिंह ऐरीले पनि उत्कृष्ट साथ दिँदै १६ बलमा २० रन बनाएका थिए। उनले १ चौका र १ छक्कासहित अन्तिम चौका प्रहार गर्दै खेल जिताएका थिए।
यसअघि, टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो। जिमी नीशमले २३ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४५ रन बनाए भने शुभ कंसाकारले २४ बलमा २६ रनको योगदान गरे। अन्य खेलाडीले प्रभाव जमाउन सकेनन्।
सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए भने सैफ अली जैबले २ विकेट झारे। स्कट कुगेलेइन र अविनाश बोहराले समान १-१ विकेट हात पारे।
क्वालिफायर वानमा पराजित भए पनि जनकपुरले फाइनल प्रवेशको अर्को मौका पाउनेछ। अब जनकपुरले बिहीबार एलिमिनेटर विजेता कर्णाली याक्ससँग क्वालिफायर टु खेल्नेछ।
सुदूरपश्चिमले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो पटक जनकपुरलाई पराजित गरेको हो। अब उनीहरू उपाधि जित्न अन्तिम खेलमा उत्रनेछन्।