काठमाडौं । उपप्रधान तथा ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट र समय आफूलाई नरहेको बताउनुभएको छ ।
शुक्रवार आजदेखि काठमाण्डौको भृकुटीमण्डपमा सुरु भएको नेपाल इलेक्ट्रिक्स पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले प्रदर्शनीले नेपालमा राम्रा प्रविधिहरु भित्र्याउन, नेपालको व्यापार प्रवर्द्धन र नेपालको विद्युत् नेपालमै प्रयोग गर्न मद्दत पुग्ने ढंगका क्रियाकलापहरुमा सहयोग पुग्ने आशा गरेको बताउनु भयो ।
उहाँले सरकारले लगानीमैत्री वातावरण बनाउने उल्लेख गर्दै अब उद्योग दर्तासम्बन्धी कुनै पनि प्रक्रियाहरुका फाइल घुमिराख्ने लालफित्ता साहीको अन्त्य हुने र एउटै टेबुलबाट सबै काम सक्ने प्रक्रियाको थालनी गर्ने बताउनु भयो ।
उहाँले देशभित्रका उद्योगी, व्यापारीहरुलाई ढुक्कसँग लगानी गर्न र विदेशी उद्योगीहरुलाई पनि नेपालमा लगानीमैत्री वातावरण रहेकाले ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभयो । उहाँले सरकारले लगानीकर्ताको सम्पूर्ण सुरक्षाको जिम्मा लिने र लगानीको पूर्ण ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाउनु भयो ।
उहाँले भन्नुभयो, ुकुनै पनि सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर, उपरखुट्टी लाएर बस्ने छुट र समय मलाई छैन । संक्षिप्त समय निकालेर म आएको छु ।
यो सरकारले लगानीमैत्री वातावरण बनाउँछ, अब उद्योग दर्ता र कुनै पनि कामहरु, प्रक्रियाहरु लामो जानुपर्ने फाइल घुमिराख्ने लालफित्ता साहीको अन्त्य हुन्छ, रेड ट्यापिजमको अन्त्य हुन्छ, एउटै टेबुलबाट सबै काम सक्ने प्रक्रिया हामीले निर्धारण गर्न लागेका छौँ ।
मन्त्री लिङ्देनले नेपालको ऊर्जा नेपालमा नै खपत गर्ने कुरामा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्युतीय सामग्रीहरुको बढी प्रयोग गरेर विद्युत् खपत बढाउनुपर्ने बताउनु भयो । उहाँले विद्युतीय सामग्रीको प्रयोग बढाउन सरकारले वातावरण बनाउनुपर्ने बताउनु भयो ।
उहाँले देशभित्रै उद्योगधन्दा बढीभन्दा बढी खोल्ने वातावरण सरकारले बनाउने बताउनु भयो । उहाँले आउँदो दिनमा देशमा उद्योगधन्दाको व्यापक विस्तार हुनुपर्ने बताउनु भयो ।