चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तस्करीका कारण गैँडा मर्न थालेपछि उच्च सतर्ककता अपनाइएको छ । यही माघ ६ मा चोरी शिकारी गर्नेहरुले गैँडा मारेपछि निकुञ्जले गैँडा संरक्षणका लागि उच्च सर्तकता अपनाएको हो ।
निकुञ्जका अनुसार २०७८ साउनपछि चोरी शिकारीका कारण गैँडा मरेका थिएनन् । शिकारीले गैँडा मार्न थालेपछि उच्च सर्तकता अपनाउन थालिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । उहाँका अनुसार निकुञ्ज क्षेत्रभित्रका २२ वटा उपभोक्ता समिति अन्तर्गत रहेका चोरी शिकारी नियन्त्रण इकाईलाई प्रभावकारी रुपले चलायमान बनाउन सुरु गरिएको छ ।
उहाँले भन्नुभयो, चोरी शिकारीसम्बन्धी जनचेतनासहित इकाईलाई सक्रिय बनाइएको छ । निकुञ्जमा गैँडा तस्कर बढेपछि यस विषयमा अनुसन्धान सुरु गरिएको छ । गैँडा संरक्षणसँग आबद्ध सरोकारवाला निकायबीच छलफल गरी सचेतना तीव्र बनाउँदै सूचना संयन्त्र थप प्रभावकारी बनाउन गृहकार्य सुरु गरिएको उहाँले बताउनुभयो ।
गैँडाको बाक्लो बासस्थान रहेको क्षेत्रमा नियमित गस्ती बढाइएको र त्यस क्षेत्रमा रहेका समुदायलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको निकुञ्जले जनाएको छ । चालु आर्थिक वर्षमा निकुञ्जमा ११ गैँडा मरेका छन् । जसमध्ये ८ गैँडा कालगतिले मरेका हुन् भने दुईवटा चोरी शिकारीले मारेका छन् । एउटा गैँडा गाउँ पस्ने क्रममा विद्युतीय करेन्ट लागेर मरेको तिवारीले जानकारी दिनुभयो ।
गैँडा मर्ने क्रम बढेसँगै निकुञ्जले वन र वन्यजन्तुसम्बन्धी सुरक्षामा विशेष काम सुरु गरेको छ । निकुञ्जमा नेपाली सेना र कर्मचारीको संयुक्त र एकल गरी ५७ पोष्ट छन् । ती पोष्टमध्ये कतिपयमा हात्तीसमेत छन् । निकुञ्जमा दैनिक पैदल, साइकल, डुङ्गा, हात्ती र गाडीबाट नियमित गस्ती गरिँदै आएको छ । तिवारीका अनुसार अनुसन्धानमा कुकुरसमेत प्रयोग गरिन्छ । तस्करले गैँडा मारेपछि गस्ती कडाइका गरिनुका साथै तस्करीमा संलग्न भएकाको खोजी तीव्रता दिइएको उहाँले बताउनुभयो ।