नेपालकी आशातीत खेलाडी नविता श्रेष्ठको पेरिस ओलम्पिक २०२४ खेल्ने लक्ष्य समाप्त भएको छ । मंगलवार पेरिस ओलम्पिकका लागि टेबल टेनिसको दक्षिण एशियाली छनोट प्रतियोगिताको क्वार्टरफाइनलमा पराजित भएसँगै नवीताको यात्रा समाप्त भएको हो । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा मंगलवार नवीता महिला एकलको क्वार्टरफाइनलमा श्रीलंकाकी इशारा मुदुरांगीसँग ४–३ ले पराजित हुन पुगिन् । नेपालकै इभाना थापाले महिला एकलमै सेमिफाइनल यात्रा तय गरेकी छन् । इभानाले सेमिफाइनलमा बुधबार श्रीलंकाकै बिमान्दी बन्दराविरुद्ध चुनौती प्रश्तुत गर्दैछिन् ।
उनले यसअघि बाई पाएकी थिइन् । नेपालका स्यान्टु श्रेष्ठ र संयोग कपालीले पुरुष एकलमा सेमिफाइनलमा स्थान पक्का गरेका छन् । सेमिफाइनलमा बुधवार स्यान्टुले श्रीलंकाका चमिरा गिनिगे र संयोगले श्रीलंकाकै जयसनका डी सिल्भासँग प्रतिष्पर्धा गर्नेछन् । भारत र भूटानबाहेकका खेलाडीले दक्षिण एशियाली छनोट प्रतियोगिता खेलिरहेका छन् । यो छनोटबाट समान एक पुरुष र महिला खेलाडीले पेरिस ओलम्पिकमा स्थान बनाउनेछन् ।
—न्युज एजेन्सी नेपाल