काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नवलपरासी पश्चिम बर्दघाट नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–३१ बस्ने ओसो रिक्रुटिङ मेनपावरका सञ्चालक ४२ वर्षीय लक्ष्मण विश्वा र काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० काभ्रेकी ४० वर्षीया सोफी मल्ल रहेका छन् ।
वैदेशिक रोजगारीका लागि साउदी अरब पठाइदिने भन्दै ठगी गरेको आरोपमा उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको हो ।
कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार ओमबाबु साहलाई साउदी अरेबिया पठाइदिने भन्दै एक लाख २५ हजार रुपैयाँ लिएपछि उनीहरू सम्पर्कविहीन बनेका थिए ।
त्यसपछि पीडितले प्रहरीमा दिएको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रवक्ता रेग्मीले जानकारी दिए ।