काठमाडौं I काठमाडौंको चन्द्रागिरि नगरपालिका-१० सतुगंल खरिबोट बस्ने १७ वर्षीया सरिता तामाङ २९ मंसिरको राति हराएको घटनामा चौंकाउने खुलासा भएको छ। धादिङको गजुरी गाउँपालिका–४ स्थायी घर भएकी सरिताको शव ३ पुसमा चन्द्रागिरि–१० स्थित भाडाको कोठामा फेला परेको छ।
मृतक सरिताको शव वीरेन्द्र श्रेष्ठको घरको भुइँ तलामा फेला परेको हो। घटना अनुसन्धानका क्रममा प्रहरीले सरिताको मोबाइलको आधारमा २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरेको छ। उनी गजुरी-३ स्थायी घर भई काठमाडौं-१४ खड्कागाउँमा बस्दै आएका थिए।
प्रहरीले सरिताको मोबाइल विश्वासको कोठामा भेटाएको थियो। त्यसपछि अनुसन्धानको क्रममा विश्वासले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। प्रारम्भिक बयानमा उनले सामान्य विवादका कारण घटना भएको दाबी गरेका छन्।
सरिताको शव लो-बेड (सुत्ने खाट) भित्र लुकाइएको अवस्थामा फेला परेको थियो। उनलाई बुधबार राति साढे ९ बजे पक्राउ गरिएको हो।
प्रहरीले विश्वासविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन काठमाडौं जिल्ला अदालतबाट म्याद लिएको छ। मृतक सरिता विष्णुदेवी शिक्षा सदन मावि, नैकापमा कक्षा १० मा अध्ययनरत थिइन्।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।