काठमाडौं । एभरट्रस्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले गरेको अनुसन्धान प्रतिवेदन आधारमा ६ जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दायर गरेको हो ।
सीआईबी प्रवक्ता तथा एसपी होविन्द्र बोगटीका अनुसार रकम अपचलन आरोपमा संस्थाका ६ पदाधिकारी विरुद्ध १६ करोड ५६ लाख ८७ हजार २ सय ४५ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा उनीहरूको सुनुवाइ भइरहेको छ । थुनछेक आदेश सकिएपछि साधारण तारेख वा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने आदेश आउने छ ।
उनीहरू विरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को उपदफा ९१० र ९२० को ठगी कसुर गरेको भन्दै मुद्दा दायर गरिएको छ । जसअनुसार ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।
सीआईबीले १५ भदौमा सहकारी उपाध्यक्ष बबिता डंगोल, सचिव कान्छाभाइ डंगोल, कोषाध्यक्ष विष्णुप्रसाद फुयाँल, सदस्य रामलाल महर्जन र अर्का सदस्य अमरभाइ बज्राचार्यलाई पक्राउ गरेको थियो ।