काठमाडौं। इजरायलले गाजामाथि स्थल आक्रमणको तयारी सुरु गरेको छ। इजरायनल सुरक्षा बल आईडीएफका अनुसार गाजामाथि हवाई, समुद्र तथा स्थल आक्रमणका लागि तयारी सुरु गरिएको हो ।
शनिबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले स्थल आक्रमणको तयारीमा रहेको सैन्य टोलीलाई भेटेका थिए। भिडियोमा नेतान्याहुले बुलेट–प्रुफ ज्याकेट लगाइरहेका सशस्त्र सैनिकलाई भेटेका थिए।
रातभरि इजरायली हवाई आक्रमण जारी रहेको थियो। गाजाका लाखौं मानिसलाई उत्तरी क्षेत्र खाली गर्न इजराजयले चेतावनी दिएको थियो। यससँगै सर्वसाधारण गाडी वा पैदलरूपमा बाहिरिने क्रम जारी छ।
गाजामा मृत्यु हुनेको संख्या २३०० कटेको छ। २ हजार ३ सय २९ प्यालेस्टिनी मर्दा ९ हजार ७ सय १४ घाइते भएको स्वास्थ्य मन्त्रालयलले जनाएको हो।
गत शनिबार प्यालेस्टिनी अतिवादी समूह हमासले इजरायलमा आक्रमण गर्दा १३०० भन्दा बढिले ज्यान गुमाइसकेका छन्। इजरायलले हवाई आक्रमण जारी राखेको छ।