काठमाडौं । भक्तपुरको एक इँटा उद्योगमा भएको हत्याको घटनाका आरोपी १७ वर्षपछि पक्राउ परेका छन् ।
भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका–९ ताँथलीस्थित गणेश इँटा उद्योग नजिकैको कुलोछेउ अचेत अवस्थामा फेला परी उपचारका क्रममा मृत्यु भएका कृष्ण योगीको हत्याको आरोपमा दुई जना पक्राउ परेका हुन् । घटनामा संलग्न एक जना अझै फरार छन् ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडा नं १ स्थायी घर भएका सुकमान भन्ने कान्छाराम तामाङ र सोही स्थान बस्ने बहादुर तामाङ रहेका छन् ।
घटना विवरणानुसार २०६२ माघ ३० गते बिहान तत्कालीन ताँथली गाविस–८ स्थित गणेश इँटा उद्योग नजिकै रहेको कुलो छेउमा ४१ वर्षीय योगी रगतपक्ष भई अचेत अवस्थामा फेला परेका थिए ।
उनलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा थप उपचारका लागि वीर अस्पताल सिफारिस गरिएको थियो । उपचारकै क्रममा योगीको वीर अस्पतालमा मृत्यु भएको थियो ।
घटनाको प्रारम्भिक अनुसन्धानमा मृतक योगीलाई सोही गणेश इँटा उद्योगका काम गर्ने सुकमान, बहादुर र देवेन्द्र भनिने देव थापाले कुटपिटपछि हत्या गरी फरार भएको भन्ने खुल्न आएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।