झापा । अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५० ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका १५ वस्ने २१ वर्षीय सन्देश राई र भद्रपुर नगरपालिका ९ बस्ने २१ वर्षीय देवराज दंगाल रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका ४ पुरानो भद्रपुर रोड बस्ने २० वर्षीय अजात अलीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिन पदार्थ ८ सय ४० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सर्लाही, लालबन्दी नगरपालिका ७ डुमडुमे मन्दिर नजिकबाट नियन्त्रित लागूऔषध एकसय एमएलको कोडिव्येल ७१ बोतल र नाइट्राभेट ६ सय ट्याब्लेट सहित भारत घर भएका ३७ वर्षीय सन्तोष साहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो ब्यूरो शाखा कार्यालय वीरगंज तथा शाखा कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको संयुक्त प्रहरी टोलीले बीआर ३० टि ७०९३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक साहलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।